‘शिक्षकहरुले दियोजस्तै बनेर ज्ञान बाँड्नु पर्दछ’ मन्त्री भगबती चौधरी


शिक्षकहरु दियोजस्तै बनेर आफु जलेर अरुलाई प्रकाश छर्ने गुणबाट प्रेरित हुनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।


मन्थली, ५ फागुन । शिक्षकहरु दियोजस्तै बनेर आफु जलेर अरुलाई प्रकाश छर्ने गुणबाट प्रेरित हुनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । रामेछाप लिखु तामाकोशी गाउँपालिकाको त्रिपुरेश्वर माध्यामिक विद्यालयको हिरक जयन्तीमा सहभागी हुँदै मन्त्री चौधरीले भोलीका राष्ट्रका कर्णधारका रुपमा रहेका विद्यार्थीलाई सहि मार्गदर्शन गर्न शिक्षकहरु दियो जस्तै बनेर आफुमा रहेको ज्ञान र सीप बाड्नु पर्ने बताएकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथी मन्त्री चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि सरकारले विभिन्न कार्यक्रम र योजनाहरु ल्याएको बताउँदै शिक्षक र अभिभावकहरु समेत सरकारी शिक्षा सुधारका लागि प्रतिबद्ध हुनुपर्ने पनि बताइन् । ‘शिक्षकहरुले दियोजस्तै बनेर ज्ञान बाँड्नु पर्दछ । अभिभावकले पनि छोराछोरीलाई स्कुल पठाएपछि पढि हाल्छन् मैले केही गर्नै पर्दैन भन्ने नसोचौं ।’ अभिभावकले समयसमयमा विद्यालयको अनुगमन, नियमन गर्नुपर्ने बताउँदै मन्त्री चौधरीले सरकारी विद्यालयहरु सुधार्न एक पक्षले मात्रै नसकिने बताइन् ।

सरकारले पछिल्ला बजेटहरुमा शिक्षालाई प्राथमिकतामा राखेपनि नतिजा कमजोर हुनुमा नीति, ऐन र समयानुकुल शैक्षिक प्रणाली नहुनु पनि एउटा कारण रहेको चर्चा गर्दै समय सापेक्ष शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको पनि बताइन् । ‘शिक्षामा सरकारले जति लगानी गरेको छ त्यस अनुसार नतिजा आइरहेको छैन । लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सबैले आआफ्नो क्षेत्रबाट योगदान गरौं ।’ पाठ्यक्रम समयसापेक्ष नहुँदा देशका लागि जनशक्ति उत्पादनमै असर गरेको मन्त्री चौधरीको भनाई छ ।

सरकारले ग्रासरुटबाटै प्राविधिक शिक्षा र जीवनोपयोगी शिक्षामा जोडदिएको चर्चा गर्दै मन्त्री चौधरीले प्राविधिक शिक्षा देश विकासको लागि अपरिहार्य भएको बताइन् । विश्वसँग प्रतिष्पर्धा गर्नका लागि २१ औं शताब्दीको शिक्षा आवश्यक भएको बताउँदै मन्त्री चौधरीले विज्ञान र प्रविधिलाई आत्मसात गरेर मात्रै मुलुकको विकास गर्न संभव रहेको पनि बताइन् । ‘परम्परागत सिकाईबाट अब देशको विकास गर्न सकिन्न । अब २१ औं शताब्दीको शिक्षा, ज्ञान र सीप प्रयोगमा ल्याउनु पर्छ ।’ सामुदायिक विद्यालयहरुको गुणस्तर अभिबृद्धि गर्न शिक्षकहरुलाई समयसमयमा तालिम, प्रशिक्षण दिन, प्रविधिसँग जोड्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन् ।

सरकारले समयमै पाठ्यक्रम सबै विद्यालयहरुमा पुर्याउन यो वर्षदेखि नीजि क्षेत्रलाई समेत पाठ्यक्रम छपाउन खुल्ला गरेको बताउँदै उनले आउँदो शैक्षिक सत्रमा देशका सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पुग्ने पनि बताइन् । ‘अब पाठ्यक्रम पुगेर पाइएन भन्ने गुनासो आउँदैन । सरकार समयमै पाठ्यपुस्तक पुर्याउन गम्भिर छ ।’ चौधरीले भनिन् ।



RELATED NEWS