काठमाडाैं, ९ पुस । सुनसरी क्षेत्र नं. ३ को निर्वाचन मर्यादित र निष्पक्षरुपमा सम्पन्न गराउन सञ्चारकर्मीहरुको भूमिका प्रशंसनीय भएको भन्दै भगबती चौधरीले धन्यवाद दिएकी छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद चौधरीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको सञ्चारजगतले निष्पक्ष ढंगले निर्वाचन हुनु पर्ने भन्दै गरेको खबरदारीकै कारण जनताको जनमतको सुरक्षा भएको बताइन् ।
विगतका निर्वाचनहरुमा राज्यपक्षबाटै धाँधली भइरहेको इतिहास रहेकोले यो पटक पनि सोहि नियति दोहोरिन्छ कि भन्नेमा आफुहरु समेत सचेत रहेको र त्यसमा सञ्चार क्षेत्रबाट पनि स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन हुनुपर्छ भनेर खबरदारी गर्नाले कुनैपनि धाँधली हुन नसकेको बताइन् । ‘प्रिन्ट मिडिया, अनलाईन मिडिया, सोसलसाइट सबैले यो पटक सुनसरी क्षेत्र नं. ३ को निर्वाचनलाई प्राथमिकता दिनुभयो । निर्वाचन भयरहित वातावरणमा भयो, जनताको जनमतको कदर भयो त्यसका लागि तपाई सम्पूर्ण सञ्चारकर्मीहरुलाई धन्यवाद र आभार प्रकट गर्दछु ।’ चौधरीले भनिन् ।
आफुले जनताको म्याण्डेट लिएर आएकाले अब जनमतको कदर गर्दै सुशासन, गरिबी निवारण, युवा स्वरोजगार, प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्ने तथा संसदमा रहेर मुलुक र जनताका पक्षमा नियम कानुनहरु बनाउन सक्रिय रहने बताउँदै नेतृ चौधरीले सञ्चारजगतबाट प्राप्त सल्लाह सुझाव अनुसार अगाडी बढ्ने पनि बताइन् ।
कार्यक्रममा सञ्चारकर्मीहरुले नेतृ चौधरीलाई आफ्नो क्षेत्रको विकाससँगै मुलुकलाई सहि दिशानिर्देश गर्ने सवालमा अन्य सांसदहरुको भन्दा बढी काम गर्न सुझाए । निर्वाचित भएर आएका अधिकांश सांसदहरुसँग जनताले आशा गरेपनि भगबती चौधरीले चैं कामै गरेर देखाउने छिन् भन्ने विस्वास लिएको स्मरण गराउँदै त्यसलाई कायम राख्न भने । ‘२७५ जना सांसदबाट जनताले आशा गर्लान् तर, भगबती चौधरीसँग चैं विस्वास नै गर्छन् । किनभने उहाँले पहिलेदेखि नै जनताका लागि काम गर्दै आइरहनु भएको छ ।’ लेखक तथा नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले कार्यक्रममा भने ।
कार्यक्रममा राजधानीका प्रिन्ट, अनलाइन, टेलिभिजनका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो र सो अवसरमा निर्वाचित चौधरीलाई सञ्चारकर्मीहरुले बधाई तथा शुभकामना दिएका थिए ।
नेतृ चौधरीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका बलिया प्रतिद्वन्द्वी बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले पराजित गरेकी थिइन् ।