नागरिकता विधेयक संसदमा ल्याइयोसः सांसद भगबती चौधरी


नागरिकता विधेयक तत्काल संसदमा प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्य भगबती चौधरीले सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।


काठमाडौं, १३ बैशाख । नागरिकता विधेयक तत्काल संसदमा प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्य भगबती चौधरीले सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले बाबुआमाको नागरिकता भएपनि छोराछोरीको नागरिकता नहुँदा लाखौं युवाहरु अनागरिक भएको बताउँदै तत्काल नागरिकता विधेयक पारित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आफ्नै गृह जिल्ला सुनसरीमा समेत सयौं युवायुवतीहरु नागरिकता विहिन भएको दृष्टान्त प्रस्तुत गर्दै सांसद चौधरीले विभिन्न जिल्लाहरुमा नागरिकता संघर्ष समिति गठन गर्दै आन्दोलन पनि भइरहेको जनाइन् ।

‘अहिले विभिन्न जिल्लाहरुमा नागरिकता संघर्ष समिति गठन भइरहेका छन् । सुनसरीमा पनि आन्दोलन गरिरहेका छन् । नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु कि, वेपत्ता आयोग, भ्रष्टाचार निवारण आयोग भन्दापनि सबैभन्दा जरुरतको नागरिकता विधेयक संसदमा प्रस्तुत गरियोस ।’ चौधरीले भनिन् ।

उनले आमाबाबुको नागरिकता भएपनि छोराछोरीको नागरिकता नहुनु दुःखद भएको जनाउँदै तत्काल नागरिकता विधेयक पास गरी नागरिकता विहिनको समस्या समाधानमा गम्भिर हुन आग्रह गरिन् ।



RELATED NEWS