दुहवी छातावेली आगलागी पिडितलाई मन्त्री भगबती चौधरीको राहत


दुहवी, १९ माघ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तरगत दुहवी वडा नं. ९ को छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । मंगलबारदेखि गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी छिन् ।


गत पौष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई त्यहाँका घर तथा धनमाल जलेर नष्ट भएको थियो । सोही बखत आफ्नो तर्फबाट सहयोग राहत प्रदान गर्ने, राज्यबाट पनि सहयोग जुटाउने प्रतिबद्धता गरेकी मन्त्री चौधरीले गृह जिल्ला गएको अवसर पारेर आगलागी पिडित परिवारलाई सहयोग गरेकी हुन् ।

मन्त्री चौधरीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँगको सहकार्य र व्यक्तिगत रुपमा राहत वितरण गरेकी हुन् । दुहवी ९ छातावेली मुस्लिम समुदायको बाहुल्यता भएको वडा हो ।

राहत वितरण गर्दै गर्दा मन्त्री चौधरीले स्थानीय जनता र अगुवा कार्यकर्ताहरुसँग उक्त क्षेत्रको समस्या र चुनौतिका सवालमा पनि छलफल गर्दै आगामी दिनमा समस्या र चुनौतिहरुलाई निराकरण गर्न लाग्ने प्रतिबद्धता जनाइन् । सोही क्षेत्रका नेकपा एमालेका नेता मोहम्मद ताविज हुसैनले अशिक्षा, गरिबी, बेरोजगारी, सडक, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा धेरै समस्याहरु रहेको जनाउँदै मन्त्री चौधरीको कार्यकालमा आफ्नो क्षेत्रले विकासका आधारभूत आवश्यक्ताहरु पाउने विस्वास व्यक्त गरे ।

मन्त्री भगबती चौधरीले अगुवा नेता कार्यकर्ताहरुलाई संवोधन गर्दै आफ्नो मन्त्रालय भौतिक पूर्वाधारसँग सम्बन्धीत मन्त्रालय नभएतापनि अन्तर मन्त्रालयविच समन्वय गरेर भएपनि आफ्नो क्षेत्रको विकासका लागि लागिपर्ने प्रतिबद्धता जनाउँदै गाउँमा के आवश्यक छ वडा कार्यालयसँग समन्वय गरेर फायल पठाउन निर्देशन पनि दिइन् ।



RELATED NEWS