समाजवाद उन्मुख राष्ट्र निर्माणको अभियानमा रहेको तर्क गर्दै उनले २०७२
सालमा जारी भएको संविधानले मुलुकमा रहेका सबै वर्ग, क्षेत्र र समुदायको
राजनीतिक अधिकार सुनिश्चित गरेपनि अन्य पक्षमा धेरै काम गर्न बाँकी रहेको
पनि जिकिर गरेकी छन् ।
सुनसरी । नेपालमा अझैपनि श्रमिकले श्रमको उचित मूल्य पाउन नसकेको नेकपा एमालेकी नेतृ भगवती चौधरीले बताएकी छन् । समाजमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा वर्गीय विभेद सहित श्रमको आधारमा मानिस मानिस बिच हुने विभेद व्याप्त रहेको चौधरीकाे ठहर छ ।
३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेतृ चौधरीले नयाँ संविधानले सबै वर्ग, समुदाय र क्षेत्रको अधिकार ग्यारेण्टी गरेपनि कार्यान्वयनका पक्ष कमजोर रहँदा श्रमकै कारण समाज समेत विभक्त भइरहेकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘महिलाका सवालमा कुरा गर्दा महिला पुरुषमै विभेद छ । ‘समान काम समाज ज्याला’ भन्ने भनाई नारामै सीमित छ ।’ पूर्वराज्यमन्त्री समेत रहेकी महिला अधिकारवादी नेतृ चौधरीले भनेकी छन् ।
समृद्ध मुलुक सुखी नेपालीको अभियानमा श्रमिक वर्गको भूमिका अतुलनीय भएपनि संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न राज्य पक्षसँगै समाजमा रहेका सबै तह तप्काका नागरिकको सकारात्मक भूमिका नहुनुमा राज्य बढी जिम्मेवार रहेको नेतृ चौधरीले जनाएकी छिन् । हाम्रो जस्तो विकासशील मुलुकमा श्रम र श्रमिकको झनै महत्व रहेको दर्शाउँदै नेतृ चौधरीले कृषि, उद्योग कलकारखाना, विकास निर्माणका ठूला आयोजनाहरू तथा विभिन्न आर्थिक क्षेत्र श्रमिकमा रहेको सीप तथा ज्ञानबाट नै चलायमान हुने बताएकी छिन् । ‘श्रम शक्ति विना संसारको कुनैपनि देश सम्पन्न हुँदैन । तर, श्रम तथा श्रमिकको सीप र क्षमताबाट सम्पन्न भएका वर्गले श्रमको मूल्य बुझ्न नसक्नु दुःखद पक्ष हो ।’ चौधरीले उल्लेख गरेकी छिन् ।
समाजवाद उन्मुख राष्ट्र निर्माणको अभियानमा रहेको तर्क गर्दै उनले २०७२ सालमा जारी भएको संविधानले मुलुकमा रहेका सबै वर्ग, क्षेत्र र समुदायको राजनीतिक अधिकार सुनिश्चित गरेपनि अन्य पक्षमा धेरै काम गर्न बाँकी रहेको पनि जिकिर गरेकी छन् । ‘अबको हाम्रो कार्यभार श्रम, सीप र क्षमताको समुचित कदर गर्ने, स्वदेशमै रोजगारीका अवसर सृजना गरी विदेशी मरुभूमिमा कठोर श्रम गर्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई स्वदेश फर्कने वातावरण बनाउनु हो ।’
तर, पछिल्लो समय नेपालको राजनीति समृद्ध नेपाल सुखी नेपालीको अभियानमा बाधक भइदिँदा स्वदेशमा काम गर्ने वातावरण खस्किएको चौधरीले बताएकी छिन् । अस्थिर राजनीतिका कारण राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा भ्रष्टाचार, कुशासन मौलाएकाले युवा शक्ति सुरक्षित भविष्य खोज्दै पलाउन हुन विवश रहेको उल्लेख गर्दै चौधरीले यसरी वर्षेनी देश निर्माणको अभियानमा आवश्यक लाखौं दक्ष जनशक्ति पलायन हुँदा देश आर्थिक रूपले मात्र हैन, सामाजिक, सांस्कृतिक रूपले नै कमजोर हुने जनाएकी छिन् ।
‘मुलुकलाई सही दिशानिर्देश गर्ने राजनीति भएपनि विगत २ वर्षयता हाम्रो राजनीति नै ट्रयाकमा छैन । जनादेशको सरकार ढालेर परामादेशको सरकार गठन गरी राज्यका सबै अङ्ग विकृत बनाइएको छ । यसलाई सुधार्ने भनेको जनमत अर्थात निर्वाचन हो ।’ जनताद्वारा उल्टो दिशा हिँडेको राजनीतिलाई निर्वाचनको माध्यमबाट सही दिशानिर्देश गर्ने चौधरीले भनेकी छिन् ।
उनले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भई राजनीतिक दलहरु निर्वाचन केन्द्रीत भएकाले मुलुकको भाग्य र भविष्य कता लैजाने ? निष्पक्ष रुपमा जनमतका माध्यमबाट तय गर्नुपर्ने पनि बताएकी छिन् ।