इटहरी, १ मंसिर । सुनसरी क्षेत्र नं. ३ बाट
मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगबती चौधरी नेकपा एमालेकी
प्रभावशाली नेतृ हुन् । चौधरीले योपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा
पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य
लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् ।
३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ
भगबती चौधरीसँग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको
संक्षेपः
१) निर्वाचनको अन्तिम तयारी सकियो ?
सुनसरी
क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार
भएको छ । वडा, नगर टोल र क्षेत्रीय समितिहरु सक्रियताका साथ लाग्नु भएको छ ।
३ नं. क्षेत्र निर्वाचन परिचालन मूल कमिटीका संयोजक लिलम बस्नेतको नेतृत्व
र निर्देशनमा चुनाबी अभियानहरु अगाडी बढाइरहँदा जनताले यो पटक भारी मत
दिएर मलाई जिताउनेमा ढुक्क छु ।
२) तेश्रो पटक पुरानै प्रतिष्पर्धीसँग चुनावी मैदानमा हुँदा जनता माझ जाने नयाँ एजेण्डा के छ ?
यो
क्षेत्रका मुख्य समस्याका रुपमा रहेको निर्यातमुखी कृषि, युवा स्वरोजगार,
प्राविधिक शिक्षा मैले उठान गरेका एजेण्डा हुन् । सुनसरी क्षेत्र नं. ३
विकासका दृष्टिकोणले ३१ वर्षदेखि पछि छ । विगतमा निर्वाचित भएर गएका
प्रतिनिधिले काम नगर्दा जनताहरु विकासका आधारभूत कुराबाट बञ्चित छन् ।
शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन स्थलको विकास, कृषिमा
आधुनिकीकरण, आर्थिक तथा महिला सशक्तिकरण, युवा स्वरोजगार जस्ता कुराहरु
मैले प्राथमिकताका साथ उठाएको छु । साथै, नेकपा एमालेको ‘सुखी नेपाली
समृद्ध’ नेपाल अभियानसँगै पार्टीको घोषणा पत्र अनुसार यो क्षेत्रको विकास,
यहाँका जनताको जीवनस्तर उकास्नु मेरो मुख्य लक्ष्य हो ।
यो
क्षेत्रमा नयाँ नेतृत्व र नयाँ भिजन चाहिएकोमा म योग्य छु, नेतृत्व लिन
तयार छु । ३१ वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने रोडम्याप मसँग
छ ।
३) तपाई सामाजिक, आर्थिक अभियानकर्मी पनि यो क्षेत्रको बर्तमान अवस्था कस्तो छ ?
यो
क्षेत्र विगत ३१ वर्षदेखि विकासका दृष्टिकोणले धेरै पछि परेको छ । इटहरी,
दुहवीका केही शहरी क्षेत्रमा सामान्य विकास भयो होला, तर, यहाँका जनताको
वास्तविक अवस्था, विपन्नता, चरम गरिबी बुझ्न उत्तरी र दक्षिणी भेग जानै
पर्दछ । बर्जु, गढी, सत्तेरझोडा, इनरुवाको चाँदबेला, सोनापुरकै छातावेलीका
गरिब, विपन्न र श्रमिक वर्गको घर घर छिर्नुभयो भने थाहा हुन्छ गरिबी । मैले
२०५१ सालदेखि सामाजिक काम गर्दैगर्दा, महिला सशक्तिकरण र आर्थिक
सशक्तिकरणका अभियानहरु चलाउँदा जनताको दुखः पिडा देखेको छु ।
यहाँका
गरिब, विपन्न, दलित, मुस्लिम समुदायका जनताको जिवनस्तर ३० वर्ष अगाडी जे
थियो त्यो भन्दा विग्रिएको छ । अझ थारु समुदाय जोसँग पहिला दुई कठ्ठा जमिन
थियो त्योसमेत सुकुम्बासी हुने अवस्थामा छन् । साहु महाजनको ऋणमा जमिन
गुमाउँदै छन् । सामुदायिक विद्यालयको शिक्षा नाम मात्रको छ । गतिलो अस्पताल
छैन । सुकुम्बासी समस्या छ । खानेपानीको ट्यांकी बन्यो १५ वर्षदेखि पानी
छैन । साक्षरता कम छ । बेरोजगारी बढ्दो छ । २१ औं शताब्दीमा सामान्य रुपमा
कसरी जीवनयापन गरिन्छ त्यो समेतबाट जनता बञ्चित छन् ।
४) यस्तो परिस्थिति सिर्जना हुनुको मुख्य कारण के हो ?
सबैको
जड राजनीति हो । ६ पटक सांसद हुँदै १३ पटक मन्त्री उपप्रधानमन्त्री भएकाले
जनतालाई दास जस्तै ठान्दा यो परिस्थिति आएको हो । आफुलाई आदिवासी जनजाति,
थारुको ‘मसिहा’ भन्दै जनतालाई भोट बैंकमा रुपमा प्रयोग गर्ने तर, सत्तामा
पुगेपछि तानाशाह बन्ने प्रवृत्तिले विकास भएन ।
राज्यलाई चलाउने
राजनीतिले हो । र, नेतृत्वमा पुगेकाले दुरदृष्टी नराख्दा अथवा जनतालाई जे
गरेपनि हुन्छ ‘यिनीहरु मेरो दास हुन्’ भन्ने सोच राख्नाले समस्या भएको हो ।
यसलाई बदल्न पनि नयाँ नेतृत्व अपरिहार्य छ ।
५) आर्थिक
सवलीकरणका नाराअघि सार्दै राजनीतिमा हुनुहुन्छ, तर पछिल्लो समय तपाईले
नेतृृत्व गर्नुभएको माइक्रोफाइनान्सले जनतालाई चर्को व्याज लियो भन्ने
गुनासो छ नि ?
पहिलो कुरा फरवार्ड माइक्रोफाइनान्स मेरो एकलौटी
सम्पत्ति हैन, मैले यसबाट कुनैपनि प्रकारको तलब भत्ता पाउँदिन । संस्था
सञ्चालनका लागि छुट्टै सञ्चालक समिति छ । म कार्यकारी हैसियतमा छैन, यसमा
लाखौं सर्वसाधारण जनताको शेयर छ, लगानी छ ।
दोश्रो कुरा
माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर उसको नीति नियममा रहेर
काम गर्ने ‘घ’ बर्गको इजाजत प्राप्त संस्था हो । यसले गरिब विपन्न नागरिक र
समुदायमा राष्ट्र बैंकले नै तोकिदिएको दररेट अनुसार मात्र कर्जा प्रवाह
गर्दछ ।
तेश्रो माइक्रोफाइनान्सले वित्तीय कारोबार गर्दा बैंकहरुको
भन्दा बढी प्रशासनिक खर्च गर्नुपर्छ । कर्जा प्रवाह गर्दा र किस्ता उठाउँदा
गाउँगाउँमा कर्मचारी पठाउनु पर्छ, वित्तीय साक्षरता, सीपमुलक तालिम प्रदान
गर्नुपर्छ । सँगै हामीले धेरै मात्रामा विनाधितो कर्जा प्रवाह गर्नुपर्ने
भएकाले बैंकहरुको भन्दा जोखिम पनि बढी छ । यसकारण बैंकहरुको दाँजोमा हाम्रो
ब्याजदर थोरै बढी भएको देखिएको हो ।
अर्को, माइक्रोफाइनान्सहरुले
क, ख र ग वर्गका बैंकहरुबाटै कर्जा लिएर काम गर्नुपर्ने हुन्छ । राष्ट्र
बैंकले कुनै सहुलियत दिँदैन । बजारमा राष्ट्र बैंकबाट २, ३ प्रतिशतमा पैसा
लिएर महंगोमा लगाउँछ जसले भनिरहेको छ त्यसलाई म चुनौति दिन चाहन्छु कुन
निकायले कहाँबाट यती सस्तो पैसा दिन्छ ? त्यस्तो छभने हामी जनतालाई ५, ६
प्रतिशतमै विना धितो लगानी गर्न सक्छौं । जसले यो आरोप लगाईरहनु भएको छ
उहाँले यतिका वर्षसम्म के हेरेर बस्नु भयो ? गरिब विपन्न नागरिकको उत्थानका
लागि लगानी गर्नुस । त्यसकारण यस्ता हल्ला र अफवाह फैलाउनु समाजलाई
दिग्भ्रमित मात्र पार्नु हो । त्यत्रो वर्ष सत्तामा रहेको, नियम कानुन
बनाएकासँग बैंक तथा वित्तीय संस्थाहरु कसरी चल्छन् भन्ने सामान्य ज्ञान पनि
रहेनछ ।
६) तपाईलाई जनताले किन मत दिने ?
म युवा हुँ,
पढेलेखेकी छु, देश विदेशको अनुभव छ । मुलुक र समाजलाई कसरी विकास गर्न
सकिन्छ भिजन बनाएकी छु । विगत २५ वर्षदेखि मैले समाज सेवा, आर्थिक तथा
महिला सशक्तिकरणका क्षेत्रमा गरेको कामको अनुभवलाई समाज निर्माण, देश
विकासका पक्षमा खर्च गर्नपनि जनताले मुल्यांकन गर्नुपर्छ । तपाई जन्मेर ३०
वर्षको युवा हुनुभयो, पढ्नु भयो, घरगृहस्थी गर्नुभयो तर, तपाईलाई नेतृत्व
गर्ने व्यक्ति चैं ३० वर्ष अगाडी कै ? उहाँबाट समय सापेक्ष काम हुन सक्दैन ।
उहाँलाई रिटायर्ड गर्नु नै यो क्षेत्रमा विकासको स्वर्णिम युगको सुरुवात
गर्नु हो ।
७) सुनसरी क्षेत्र नं. ३ लाई कसरी विकास गर्न सकिन्छ ?
यो
क्षेत्र कृषिका लागि उर्वरभूमी हो । ८० प्रतिशत जनता किसान हुनुहुन्छ ।
कृषि कर्मलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाउनु पर्दछ । युवाहरुलाई
गाउँघरमै स्वरोजगार बनानु पर्छ । प्राविधिक शिक्षाका लागि गुणस्तरीय स्कुल,
कलेज र प्राविधिक विश्वविद्यालयको आवश्यक छ । एक गाउँ एक उद्योग स्थापना
गरेर श्रमिक मजदुरलाई रोजगार बनाउनु पर्छ । पर्यटन क्षेत्रको विकासबाट यो
क्षेत्रका दक्षिणी र पश्चिमी भेगका जनतालाई आर्थिक सवलीकरणमा जोड्नु पर्छ ।
त्यसका लागि बर्जु ताल प्राकृतिक सम्पत्ति हो । उत्पादीत कृषिजन्य
वस्तुहरुको बजारीकरण गर्ने, किसानहरुलाई समयमै विउविजन उपलब्ध गराउने,
बेलाबेलामा सम्मान, राहतका कार्यक्रम ल्याउनु पर्छ ।
८) यो क्षेत्रमा करिब ३० प्रतिशत जनताहरुसँग लालपुर्जा छैन, उनीहरुलाई कसरी संवोधन गर्ने ?
कुनैपनि
नागरिक भूमिहिन हुनुहुँदैन, गाँस बास र कपासबाट बञ्चित हुँनु हुँदैन भन्ने
नेकपा एमालेको नीति नै हो । वास्तविक भूमिहिन नागरिकको पहिचान गरी
उनीहरुलाई लालपुर्जा दिने, व्यवस्थापन गर्ने कार्यमा म सदैव लाग्नेछु ।
राज्यको नीति नियम अनुसार भूमिहिन जनताको जीवनस्तर उकास्न पहल र पैरवी
गर्नु मेरो दायित्व हो । साथै, उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार
लगायतका क्षेत्रमा पहुँच पुर्याउन म प्रतिबद्ध छु ।
९) नागरिकताका सवालमा पनि समस्या छ त्यसलाई कसरी समाधान गर्ने ?
नेपालको
कुनैपनि भू–भागका जन्मिएका नागरिक पहिचान विहिन बन्नु हुँदैन । नागरिकता
समस्यामा राज्यले समुचित निर्णय लिनुपर्छ । नेपाली नागरिकलाई पहिचान दिने
सवालमा राज्यले अपनाउने नीतिले राष्ट्रियता पनि कमजोर हुँनुहुँदैन ।
१०) यो निर्वाचनबाट विजयी हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
जनताले
जिताई सक्नु भएको छ, खाली मंसिर ४ गते ब्यालेटमा खस्ने जनताको मतपत्र गनेर
घोषणा मात्र गर्न बाँकी छ । विगतका निर्वाचनमा मलाई देखाउनु भएको सद्भाव
कायमै छ । याे पटक जनता समाजवादी पार्टीले एमालेलाइ साथ दिएकाे छ। त्यससँगै
याे क्षेत्रका अधिकांश कांग्रेसीजन पनि नेतृत्व परिवर्तनकाे पक्षमा
भएकाेले जनताले यो क्षेत्रको विकास र समृद्धिका लागि ऐतिहासिक भोट
दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।
११) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मंसिर
४ गतेको निर्वाचनमा नेकपा एमाले विजयी भएर आएपछि नेपाललाई नयाँ बाटोमा
लैजानेछ । सुनसरी क्षेत्र नं. ३ मा पनि परिवर्तनको स्वर्णीम सूर्योदय हुनेछ
। जनतालाई कुनै डर, त्रास, लोभ लालच नराखी निष्पक्ष ढंगले सूर्य चिन्हमा
मतदान गरिदिनु आग्रह गर्दछु ।
साभारः एक्सन खबर