सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने
गरी मिति तोकेको छ । निर्वाचनको मिति तय भएसँगै राजनीतिक दल र नेता
कार्यकर्ताहरुले विस्तारै निर्वाचनको तयारी समेत थालेका छन् । यसै
सन्दर्भमा हिमालय पोष्टले नेकपा एमालेकी नेतृ भगवती चौधरीसँग
सरकारको वर्तमान कार्यशैली, निर्वाचनमा पाटीगत र व्यक्तिगत रणनीति र तयारी
लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित
अंशः
पाँच दलीय गठबन्धन सरकारका गतिविधिलाई नेकपा एमालेले कसरी हेरिरहेको छ ?
पाँच
दलीय गठबन्धनको सरकार जनता र देशलाई हितको काम गर्नुभन्दा पनि यसलाई
टिकाइराख्न मात्र लागिपरेको छ । नेकपा एमालेले जनता र देशको लागि काम गर्ने
सरकार हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको छ । महङ्गी,
भ्रष्ट्राचार र बेथिती बढेर गइरहेको कुरामा पनि एमालेले सरकारलाई सचेत
गराइरहेकाे छ । तसर्थ हामीले सदनमा र सडकमा पनि आवाज उठाउने संकल्प गरेका
छौं । देश र जनताका लागि गठबन्धनकै शीर्ष नेताहरुले एकछिन सोचे भने मुलुक
गम्भीर मोडमा पुगेको छ भन्ने थाहा पाउनुहुन्छ । त्यसपछि उहाँहरुलाई पनि
गठबन्धन उचित छैन भन्ने महसुस हुन्छ ।
देशलाई अहिले आर्थिक सामाजिक र
राजनीतिक रुपमा कमजोर पारिएको अवस्थालाई ध्यानमा राखेर एमालेले सरकारलाई
ध्यानाकर्षण गराउने, सर्तक हुन अपील गर्ने, सदनमा आवाज उठाउने तथा जनतामा
जागरण ल्याउने काम गरिरहेको छ । सरकारले विकास र निर्माणको काम नगरेकाले
जनताले सुखी हुने परिकल्पना गर्न सकिरहेका छैनन् ।
संविधानको
निर्माणपछि हामीले विकासका लगि चाहिने पूर्वाधारहरु खडा गरिसक्नुपर्नेमा
सरकारले त्यतातर्फ ध्यान दिएको छैन । नेपालले विकासको गति समात्न चाहने हो
भने नेकपा एमालेको सरकार बन्नुको विकल्पै छैन । एमालेको सरकार भएको बेला
सुरु भएका परियोजनाहरुमा अलिकति पनि काम भइरहेको छैन । पूर्व-पश्चिम
राजमार्गदेखि लिएर विभिन्न परियोजनाको काम द्रुतगतिमा हुनुपर्नेमा एमालेले
सरकारलाई घचघच्याइरहेको छ । तर, गठबन्धन व्यक्तिगत स्वार्थमा रुमल्लिएको,
सीमित मान्छेका इच्छाहरु पूरा गर्नतर्फ लागि परेको अवस्था छ ।
वर्तमान
सरकार अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन
(एमसीसी)देखि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्ममा सरकार विवादित
बन्यो । यसमा तपाईंको धारणा के छ ?
एमसीसी सम्झौता संसदबाट पास
गराए पनि एसपीपी सम्झौता पास गराउन सरकार लाग्नुहुँदैन । एसपीपी सम्झौता
पनि पास गराउन प्रधानमन्त्री देउवा नै अग्रसर हुनु दु:खको कुरा हो । देशको
हितमा नभएको कुरालाई यसो गर्न खोज्नुहुँदैन । उहाँको गतिविधि हेर्दा मौका
परेको खण्डमा यो सम्झौता पनि लागू गराउने देखिन्छ । देशको हित विपरीत रहेको
यो सम्झौता उहाँहरुले आफ्नो सरकार टिकाइराख्न र कसैलाई खुशी बनाउन लागु
गर्ने त होइन भन्ने कताकता डरको महसुस पनि भएको छ । यसले देशको भविष्य नै
खतरामा पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।
अहिले महंगी चरमचुलीमा उक्लिएको छ । त्यसको न्यूनीकरणका लागि तपाईंहरुले सरकारलाई कसरी खबरदारी गरिराख्नु भएको छ ?
अहिले
भइरहेको अवस्थालाई सरकारले रोकेन भने आगामी आर्थिक वर्षसम्म चरम आर्थिक
संकटमा फस्ने देखिएको छ । अर्थतन्त्रका समस्या, महङ्गी र बढ्दो बेथितीमा
सरकारले ध्यान दिनुपर्दछ भन्ने नै मेरो भनाई हो । यसलाई हामीले एकदमै चनाखो
भएर हेर्नुपर्दछ । हामी कहिलेसम्म आयातित वस्तुमा निर्भर रहन सकौंला ?
सरकारको
ढुकुटीमा पैसा सकिएपछि हामीलाई कसैले माया गरेर कुनै कुरा दिनेवाला छैन ।
अर्थतन्त्र सकारात्मक मोडमा छैन । त्यसैले नै उत्पादनमुखी अर्थतन्त्रमा जोड
दिनुपर्छ भनिराखेको हो । साना, ठूला र मझौला कुनै पनि उद्यमीहरुले पैसा
पाइरहेको अवस्था छैन । सरकारको खातामा पुगेको पैसा बजारमा आइरहेको छैन ।
बैंक तथा वित्तीय संस्थाहरुसँग पनि पैसाको अभाव भइरहेको छ । व्यापारीहरुलाई
नगद रुपैयाँको खाँचो परेको छ ।
यता उत्पादन शून्य अवस्थामा झरेको छ
। राष्ट्र बैंकले पैसा कहाँ पुगेको छ भनेर विश्लेषण गर्नुपर्छ । किन
बजारमा रकमको अभाव भएको हो भन्ने कुरामा सरकार सचेत भएकै छैन । यसलाई पत्ता
लगाएर सरकारले कमीकमजोरी सुधार गरेर जानुपर्छ भन्ने मलाई लागेको छ ।
पछिल्लो
समय संघीयता खर्चिलो भयो, देशले धान्न सक्दैन भन्दै कतिपयले प्रदेशलाई
खारेज गर्नेसम्मका कुरा गरेका छन् । यसमा तपाईंको भनाई छ ?
प्रदेश
गठनका बेला यसका विभिन्न मापदण्ड राखिएको थियो । पाँच वटासम्म मन्त्री
राख्न पाउने भन्ने सीमा पनि लगाइएको थियो । अहिले संघीय सरकारमा पाँच दलीय
गठबन्धन बनिसकेपछि आफ्ना मान्छेहरु अटाउने, धेरैभन्दा धेरै क्षेत्र समेट्ने
भनेर प्रदेशको सीमा तोडिएको अवस्था छ । मन्त्रालय नै बढेपछि त्यसका सेवा
सुविधा, खाजापानी, कर्मचारी, कार्यालय जस्ता कुरामा धेरै पैसा खर्च भएको छ ।
यसैले यो एकदमै खर्चिलो भएको छ । देश सानो हुनु र प्रदेश धेरै हुनु तथा
सीमित स्रोत साधन भएकाले खर्च कम गर्नेतर्फ सोच्नुपर्ने बेला प्रदेश
सरकारले मन्त्रालयको संख्या घटाउनुपर्नेमा बढाइरहेको छ ।
छिमेकी
मुलुक भारतमा नेपाल जत्रो एउटा प्रदेशको सीमा रहेको छ । हाम्रो सानो
मुलुकमा सातवटा प्रदेश हुनु पनि धेरै हो । हाम्रो सीमित अर्थतन्त्रले यस्तो
ठूलो खर्च धान्न सक्छ कि सक्तैन भन्ने पनि छ । तीनदेखि पाँच मन्त्रालयको
दायरामा प्रदेश सरकार बस्नुलाई ठिकै रुपमा लिन सकिन्छ । एउटै प्रदेशको
१०/१५ वटा मन्त्रालय हाम्रो अर्थतन्त्रले धान्न सक्तैन ।
यसमा पनि
स्वकीय सचिवदेखि लिएर पीएसम्मलाई गाडी/घोडा दिनु भनेको देशको आर्थिक
अवस्थालाई कमजोर बनाउनु हो । संघीयताको मूल मर्म भनेको जनतालाई आफ्नो हक
अधिकार दिने भन्ने थियो । सानै भए पनि आफ्ने प्रदेशबाट सेवा सुविधा उपलब्ध
गराउने भन्ने यसको मूल मर्म हो । यसको गलत अभ्यास भएको छ । गलत अभ्यास
गर्नुहुँदैन भन्ने हो ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको मिति तोकेको छ । एमाले एक्लै निर्वाचन लड्छ कि वामपन्थीसँग तालमेल वा गठबन्धनको प्रयास हुन्छ ?
स्थानीय
तहको निर्वाचनको जनमतलाई हेर्ने हो भने एमालेको जनमत राम्रो रहेको थियो ।
एमालेका आफ्नै समस्या, गठबन्धन हुनु र अरु विविध कारणले एमालेले स्थानीय
तहको चुनावमा राम्रो नतिजा भने ल्याउन सकेन । पार्टीका केही व्यक्तिका
नैतिक आचरण र नेतृत्वमा रहेका केही व्यक्तिका स्वभावले पनि एमालेले चुनावमा
राम्रो नतिजा नपाएको हो जस्तो लाग्छ ।
टिकट दिने सन्दर्भमा पनि
प्राविधिक समस्याहरु भएको देखिएको छ । मेरै जिल्लाको सन्दर्भमा तीन वटा
मात्र पालिका एमालेले जित्नु कल्पना बाहिरको कुरा हो । कम्तीमा पनि आठ वटा
पालिका जित्ने संगठन हामीसँग थियो । पार्टीमा टिकट मिलाउने सन्दर्भमा
विभिन्न कुरा भए । तसर्थ थोरैमा चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भयो ।
अन्तर्घात पनि भएका छन् ।
जनमतका हिसाबले प्रचारका हिसाबले र
कार्यकर्ताका हिसाबले एमाले बलियो पार्टी भए पनि टिकट दिने सन्दर्भमा
विभिन्न कुराहरु आयो भने अन्तर्घात हुने रहेछ । यो कुरालाई हामीले ख्याल
गर्नुपर्दछ । त्यसैगरी पार्टीमा लोकप्रिय र जनतामा पनि भिजेको, जनताले
पत्याउने उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने मलाई लाग्छ । यसो नहुँदा
उम्मेदवारका आकांक्षीहरु स्वतन्त्र चुनाव लड्ने सम्भावना पनि बढेर जाने
खतरा हुन्छ । वामपन्थीहरु एउटा घेरामा बसेर चुनाव लड्नु सुखद् कुरा हो ।
यसो भइदियो भने झनै राम्रो हुन्छ भन्ने मलाई लाग्छ । वामपन्थी विचार बोक्ने
पार्टीहरुले एकै सिद्धान्त भएको आधारमा देश र जनताको भलाईका लागि एकै
ठाउँमा उभिएर चुनाव लड्नु राम्रो कुरा पनि हो । यसका बारे नेतृत्वमा रहेका
नेताहरुले सोच्नुपर्दछ ।
अहिलेको गठबन्धन अरुले बनाइदिएको कारण
यस्तो विचार नमिलेको स्थानमा गठबन्धन हुँदा चुनाव जिते पनि अरुको कुरा
सुनीराख्नु पर्दछ । अरुले बनाइदिएको गठबन्धनले संसदमा पनि अरुको आदेश
बमोजिमका नीति बनाइदिनुपर्ने, अरुको कुरा लागू गरिदिनुपर्ने र अरुले नै
चाहेको मान्छेलाई मन्त्री बनाइदिनुपर्ने अवस्थाहरु आउन सक्छन् ।
राष्ट्रिय
हितका सन्दर्भमा सोच्ने हो भने एकै विचार भएका पार्टीहरु एकै स्थानमा
उभिएर चुनावमा जानु राम्रो हो । स्वाभिमानी भएर उभिन, आफ्नै देश विकास
गर्नका लागि कस्तो खालको गठबन्धन गर्ने भन्ने कुरा दलका नेतृत्वमा रहेका
नेताहरुले आफैं सोच्नुपर्छ । तत्काल वामपन्थी एकता होला भन्नेमा भने म
आशावादी छैन ।
चुनावमा जाँदै गर्दा एमालेका चुनावी एजेण्डा कस्ता
हुनेछन् ? पार्टी अध्यक्ष चुनावकाे सामना गर्न कत्तिकाे विश्वस्त भएको
पाउनुभएको छ ?
हामी चुनावी माहोल तयार गर्नका लागि सक्रिय भएर
लागि परेका छौं । विश्वस्त भएर नै चुनावकाे सामना गर्न लागेका हौं । पार्टी
अध्यक्षलाई पनि मैले कन्फिडेन्ट नै पाएको छु । हाम्रो पार्टीको मूल
एजेण्डा ‘समृद्ध नेपाल सुखी नेपाली’ नै हो । यसैभित्र रहेर अरु विभिन्न
कुरा समेटिन्छ ।
पूर्वाधारका कुराहरुलाई विशेष प्राथमिकतामा
राख्नुपर्छ । मानव विकासका कुराहरु पनि समेटिनुपर्छ । देशलाई समृद्ध बनाउने
दिशातर्फ उन्मुख भएर नै हाम्रो पार्टीको चुनावी एजेण्डाहरु आउँछन् ।
समृद्ध देश हुनका लागि पूर्वाधार नै सबैभन्दा महत्पपूर्ण कुरा हो । विकट
क्षेत्रहरुमा पूर्वाधार नै पुगिनसकेका कारण विकासमा ढिलाई भइरहेको छ ।
आजको
देशको अर्थतन्त्रलाई विचार गर्ने हो भने उत्पादनमा हामीले धेरै जोड
दिनुपर्ने अवस्था आइलागेको छ । शिक्षा र स्वास्थ्य मुलुकको सबैभन्दा ठूलो
पाटो हो । यी सबै कुरा समेटिएपछि मात्र मानव विकास सम्भव हुन्छ । समृद्धि र
सुख एकआपसमा जोडिएका कुरा भएकाले यसलाई छुट्याएर हेर्न पनि सकिँदैन ।
स्थानीय तहको चुनावमा पनि हाम्रो पार्टीको एकखालको एजेण्डा आइसकेको छ ।
यसैको पेरिफेरिमा रहेर हाम्रो पार्टीको चुनावी एजेण्डा आउनेछ । अब आगामी
पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्न पायो भने मानव विकासको पाटो र
बाँकी रहेका पूर्वाधार विकासमा देशले फड्को मार्छ ।
नेकपाको विभाजनसँगै एमाले पनि टुक्रिएको अवस्था छ । अहिले पार्टीको संगठनात्मक अवस्था कस्तो छ ? पार्टीमा गुट छन् कि छैनन् ?
घरमा
पनि कहिलेकाँहि कुरा नमिल्दा बोलचाल बन्द हुने, मनममुटाव हुने गर्दछ ।
पार्टीमा पनि अन्तर्संघर्षहरु भइ नै हाल्छ । तर, अध्यक्ष ओली दोस्रो पटक
अध्यक्ष भएर आएपछि पार्टीमा गुटहरु छैनन् भन्दा पनि हुन्छ । उहाँले सबैलाई
समेटेर लगेको कारण पार्टीमा अहिले समूहहरु छैनन् ।
उहाँको नेतृत्वमा
पार्टी राम्ररी अघि बढिरहेको देखिन्छ । कहिलेकाँहि छोराछोरीले पनि
बाबुआमासँग चित्त नबुझ्दा आवाज उठाउँछन् भने ठूलो पार्टीमा फाट्टफुट्ट आवाज
उठ्नु सामान्य रुपमा लिनुपर्दछ । यस्तो आवाजले पार्टीलाई सुध्रिएर जाने
मौका समेत प्रदान गरेको हुन्छ । त्यसैले अहिलेको अवस्थामा ठूलो रुपमा एउटा
एकातिर हुने र अर्को अर्कोतिर हुनेजस्तो गुटहरु छैनन् । यतिबेला पार्टी
एकढिक्का भएर अघि बढिरहेको छ ।
निर्वाचन आउन करिब करिब १०० दिन बाँकी रहँदा तपाईंले व्यक्तिगत तयारी कसरी गरिराख्नुभएको छ ?
म
निर्वाचन लड्ने तयारीमा नै छु । पहिले पनि मलाई जनताले पत्याएका नै हुन् ।
अघिल्लो पटकको चुनावमा थोरै मतान्तरले विभिन्न बहानामा मलाई चुनाव हराइयो ।
सञ्चारमाध्यममा पनि मलाई के-के कारण रचेर चुनाव हराइएको हो भन्ने कुरा
आइसकेको छ ।
जनताले चाहँदा नचाहँदै ममाथि अन्याय भएको कुरा अब
बताइरहनुपर्छ जस्तो लागेको पनि छैन । यसपालिको चुनावलाई मैले अन्तिम
युद्धका रुपमा लिएकी छु । अन्तिम युद्ध भएकै कारण मैले चुनाव जितेर
देखाउनुपर्ने छ । जनताको भरोसा पनि जितिरहेकी छु, चुनाव जित्नेमा विश्वास
पनि छ ।
यसपालिको चुनावमामा खटिने प्रशासन र सुरक्षा कर्मचारीहरुलाई
जनताले दिएको भोट जस्ताकोत्यस्तै राखिदिन पनि अपील गर्न चाहन्छु । भोटलाई
पूर्वाग्रह नगरेर यथावत् राखिदिने हो भने मैले चुनाव जित्छु भन्ने पूर्ण
विश्वास लिएकी छु ।
कहाँबाट निर्वाचन लड्दै हुनुहुन्छ ?
सुनसरी
क्षेत्र नम्बर-३ बाट मेरो उम्मेदवारी पर्छ । पहिलो पटक म यस क्षेत्रबाट
चुनाव लड्दा कुनै पनि पालिकाहरु बनिसकेको अवस्था थिएन । संगठन बलियो
अवस्थामा रहेको थिएन । मैले त्यतिबेला केन्द्रीय सदस्य पनि जितेको अवस्था
थिएन ।
दोस्रोपटक चुनाव लड्दा म केन्द्रीय सदस्य भएको थिएँ । यद्यपि
त्यतिबेला हामीले पालिकाहरु जितेका थिएनौं । त्यतिबेला संगठन कमजोर देखिए
पनि मैलै एकदमै राम्रो भोट पाएको थिएँ । जनतामा विश्वासको वातावरण बन्यो ।
त्यतिबेला मलाई विभिन्न जालझेल गरेर चुनाव हराइयो । जनताले जिताइदिएको
उम्मेदवार हारेको परिणाम घोषणा भयो ।
यसपालि हामी केही पालिकाहरुका
साथै १५ वटा वडाहरु जितेका छौं । स्थानीय स्तरमा एमालेले लोकप्रिय मत पाएको
छ । संगठन पनि पहिलेभन्दा राम्रो भएको देख्न सकिन्छ । हामी यसपालि बलियो
भएका छौं । दुईवटा पालिकामा हामीले जितेका छौं भने दुहबीमा झिनो मतान्तरले
हामीले हार व्यहोरेका छौं । दुहबीमा पनि संघीय चुनावमा राम्रो भोट आउने
सम्भावना देखेको छु । तसर्थ यसपालिको माहोल राम्रो भएको पूर्वानुमान गर्न
सकिन्छ । पार्टीमा कतैकतै अन्तर्घात त जहाँ पनि हुन सक्छ तर यसपालिको सबै
माहोल हेर्ने हो भने जीतको संघारमा भएको अनुभूति भइरहेको छ ।
तपाईंका चुनावी एजेण्डा के के हुन्छन् ?
मैले
पहिलेदेखि नै युवा स्वारोजगारका कुराहरु ल्याउन पहल गरिरहेको छु ।
यसबारेमा धेरैपटक बोलि पनि सकेको छु । आफ्ना तर्फबाट युवालाई रोजगारको
सिर्जना गर्ने काम मैले सकेजति त गर्दै आएको पनि छु । राज्यको स्तरबाट
गराउने सन्दर्भमा म त्यो ठाउँमा पुग्न सकिरहेको छैन ।
यसपटक चुनाव
जितें भने युवा स्वरोजगारका सन्दर्भमा धेरै काम गर्छु । यस्ता
विभिन्न स्वरोजगारका क्षेत्रको पहिचान पनि गरिसकेको छु । यसले युवावर्गलाई
आफ्नो खुट्टामा उभिन मद्दत पुग्नेछ । औद्योगिक करिडोरको कल्पना पनि
गरिरहेको छु । यसबाट यहाँका मजदुरहरु, यहाँका महिलाहरु, यहाँका
स्थानीयहरुलाई स्वारोजगारका विविध क्षेत्रहरु निस्कन्छन् भन्ने लागेको छ ।
यस्ताखालका परियोजनाका लागि यस क्षेत्रमा प्रशस्त जग्गा पनि रहेको छ ।
उद्योग ग्रामकै रुपमा यस्ता जग्गालाई विकास गर्न राज्यले पहल गर्ने वातावरण
बन्यो भने यहाँका वासिन्दाहरु सुखी हुने मलाई लागेको छ ।
यसैगरी
हाम्रो देश दुई ठूला जनसङ्ख्या भएको देशको बीचमा अवस्थित छ । किमाथांका
नाकाको बाटो पनि खोलेको अवस्था छ । यसैगरी हाम्रो जिल्लामा नै २-३ वटा
नाकाहरु पर्ने अवस्था सिर्जना भएको छ । यसलाई हामीले पर्यटनसँग जोडिदिन
पायौं भने सुनमा सुगन्ध हुनेछ भन्ने लाग्छ ।
सुनसरी क्षेत्र नम्बर-३
मा बुद्ध पर्यटकीय क्षेत्र र बर्जु ताल पहिलेदेखि नै छँदैछ । यसका विकासका
कामहरु गर्नुपर्छ भन्ने लागेको छ । यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका
रुपमा विकास गर्न सकिन्छ । यसका लागि अलिक सीप लगाएर गुरुयोजना नै बनायो
भने पर्यटकीय क्षेत्रका रुपमा धेरै मान्छेको गन्तव्य हुन सक्तछ । यस
क्षेत्रमा होमस्टेको व्यवस्था गरिदिने हो भने दिनभर पर्यटक आएर पर्यटनको
मजा लिन सक्छन् भन्ने मलाई लागेको छ । गर्मीको मौसममा दक्षिणका पर्यटक र
उत्तरका पर्यटक वा आन्तरिक पर्यटकले भरिने स्थान बनाउन सकिने अवस्था छ ।
यसैगरी
सोही क्षेत्रमा खेलकुदको विकासको सम्भावना पनि अत्यन्त धेरै छ । पाँच
हजारजनासम्म अट्ने एउटा स्टेडियम खडा गर्न सकिन्छ कि भनेर पनि हामीले
सोचेका छौं । गर्मी हुने क्षेत्र भएको कारण बर्जु तालमा राष्ट्रिय वा
प्रदेशस्तरीय पौडी प्रशिक्षण केन्द्र बनाउन सकिने सम्भावना मैले महसुस
गरेको छु । बर्जु ताल र तालभित्रको पोखरीमा नेचुरल्ली पानी निक्लने भएकाले
प्राकृतिक जंगल जस्तो देखिने मानव निर्मित जंगल बनाउन सकिने सम्भावना पनि छ
।
यसैगरी आधुनिक कृषि प्रणालीको कुरालाई पनि जोड दिन सकिन्छ ।
खासगरी तीन नम्बर क्षेत्रको दक्षिणी भेगमा नगदेबालीको उच्च सम्भावना
देखिएको छ । यहाँ एउटा अनुसन्धान केन्द्र नै बनाएर कुनकुन बाली कस्तो
मौसममा लगाउने, माटोको परीक्षण गरेर बालीको सुझाव दिने, बालीको अवस्था र
मौसमलाई ध्यान दिएर खेती गर्ने, प्रकृति हेरेर उत्पादकत्व क्षेत्र,
चक्लाबन्दी खेती आदिको आधुनिक व्यवस्था युक्त प्रणाली भएको एउटा हब नै
बनाएर अघि बढाउन सक्नुपर्छ भन्ने लागेको छ । जसमा कलेक्सन सेन्टर, वेयर
हाउसहरु र कृषि कलेक्सन सेन्टरहरु पालिका स्तरमा नै विकास गरिनुपर्छ भन्ने
लागेको छ । जसमा किसानले आफ्नो लागत हेरेरे आफैं मूल्य तोक्ने प्रणाली
बनाउन सकिन्छ भन्ने लागेको छ । यी नै कुराहरु र अरु थप विभिन्न कुराहरु
मेरो एजेण्डामा रहेका छन् ।
अन्तिममा के भन्नुहुन्छ ?
मलाई
पहिलेदेखि नै राज्यको कुनै निकायमा रहेर जनताको सेवा गर्ने धोको रहेकाे छ ।
जहाँ रहेर मैले मेरा सोचहरु, विचारहरु र योजनाहरु जनतालाई सेवा दिनका लागि
प्रयोग गर्न सकौं भन्ने लागेको छ । जनतामार्फत् चुनिएर राज्यको दायित्व
निभाउने स्थानमा पुग्ने मेरो सपना पनि हो ।
यसपटक पनि म चुनाव
मार्फत् जनतामा जान चाहेको छु । तसर्थ आदरणीय दाजुभाई, दिदीबहिनी र
आमाबुबाहरुले मलाई विश्वास गरेर दायित्व निभाउने भूमिका दिनुहुन्छ भन्ने
विश्वास लिएको छु । हजूरहरुले दिनुभएको अहिलेसम्मको माया, विश्वास र
भरोसालाई कायम राख्नेछु भन्ने विश्वास पनि दिलाउन चाहन्छु । साभारः हिमालय
पाेस्ट डटकम