५ दलीय गठबन्धन विरूद्ध एमाले एक्दै मैदानमा उत्रन्छः भगवती चाैधरी


तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत


सुनसरी, भदाै । नेकपा एमालेकी नेतृ भगवती चौधरीले २०७४ सालको निर्वाचनमा स्पष्ट जनादेश प्राप्त गरेको सरकारलाई ढालेर मुलुकका राजनीतिक अस्थिरता पैदा गरेकोले मुलुक पछाडी धकेलिएको बताउनु भएकाे छ । जनताले कम्युनिस्ट पार्टीहरुलाई पाँच वर्ष सरकार चलाउन जनादेश दिएतापनि पार्टी भित्र तथा पार्टी बाहिरका शक्तिहरुको चलखेलका कारण सरकार ढलेको बताउनु भयाे ।

मंसिर ४ गते घोषित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले विरुद्ध सिद्धान्त र विचारधारा नमिल्नेहरुले गठबन्धन गरेपनि त्यसलाई परास्त गर्न तमाम नेता कार्यकर्ता लाग्नुपर्ने जनाउनु भयाे । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (ख) का नेता कार्यकर्ताहरुलाई चुनाबी प्रशिक्षण दिँदै नेतृ चौधरीले गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै मैदानमा उत्रने र जनताका माझ खरो उत्रने समेत जिकीर गर्नुभयाे ।

‘०७४ सालमा जनताले चुनेको पार्टीलाई सरकारबाट अपदस्त पार्ने, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई घेरावन्दी गर्ने काम पार्टीभित्र र बाहिर दुवै तर्फबाट भयो । जनताले स्पष्ट म्यान्डेट दिएर पठाएको नेतृत्वलाई समाप्त पारेर मुलुकलाई अस्थिर राजनीतिमा लैजाने काम भयो । तर, अबको निर्वाचनमा अन्तरघात गर्ने, जनताको जनमतलाई कुठाराघात गर्ने विरुद्ध एकजुट भएर लाग्नु जरुरी छ ।’ कांग्रेस, माओवादी लगायत ५ दलको गठबन्धन सरकारले मुलुकको विकास गर्न नसक्ने जिकीर गर्दै सिद्धान्त र विचारधारा नै नभएकाहरुको गठबन्धनले मुलुकको भविष्य अन्धकार भएको नेतृ चाैधरीकाे भनाइ छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले केही सिटहरु गुमाएता पनि निराश भइहाल्नु पर्ने परिस्थिति नबनेको बताउँदै चौधरीले पाँच दलीय गठबन्धन भन्दा नेकपा एमाले एक्लैले ल्याएको मत ठूलो रहेको जनाउनु भयाे ।  

‘गठबन्धन नगरेको भए हामी सबैभन्दा ठूलो दल हुन्थ्यौं । प्रदेश र केन्द्रको निर्वाचनमा पनि हामी नै ठूलो दल हुन्छौं । तपाईहरु निराश हुनुपर्ने अवस्था छैन कमरेडहरु, सिद्धान्त र दिशाहिन गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै निर्वाचनमा जान्छ र जनताको लोकप्रिय मत पनि हासिल गर्छ ।’ चौधरीले भन्नुभयाे ।

आउँदो निर्वाचनमा पार्टीभित्र सबै तह र तप्काका नेता, कार्यकर्ताहरु इमान्दार भएर लाग्नुपर्ने बताउँदै चौधरीले पार्टीभित्रका असन्तुष्टीहरु पार्टीभित्रै मिलाउनु पर्ने पनि बताउनु भयाे । कहिले काँही नेतृत्वको कारण अथवा पार्टीको आन्तरिक तयारीका कारण परिस्थिति प्रतिकूल भएपनि पार्टीको सिद्धान्त र विचारधाराबाट भाग्न नहुने चौधरीको भनाई छ ।

मंसिर ४ को निर्वाचनमा सुनसरीमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा उभ्याउन फेरी एकपल्ट तमाम् नेता कार्यकर्ता एकबद्ध हुन जरुरी रहेको चौधरीले प्रष्ट्याउँदै भन्नुभयाे ‘विगतमा के भयो कसो भयो त्यसलाई निर्वाचन पछि समिक्षा गरौं, अहिलेलाई हामी सबै एक भएर गठबन्धन विरुद्ध, जनता र मुलुकमा समाजवाद स्थापनाका लागि लागि परौं ।’

प्रशिक्षण कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, क्षेत्र नं. ३ ख का नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो । यसअघि नेतृ चौधरीले आज नै सुनसरी क्षेत्र नं. ३ (क) द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा समेत सहभागीता जनाएकी थिइन् ।



RELATED NEWS